चितवनमा तीनसहित आजमात्र थप ६ जना संक्रमितको मृत्यु

काठमाडौँ । चितवन, मोरङ र सिन्धुलीमा थप छ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चितवनमा तीन, मोरङमा दुई र सिन्धुलीमा एक संक्रमितको मृत्यु भएको हो । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई र चितवन मेडिकल कलेजमा एक गरी तीन संक्रमितको पनि मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १ः२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।  श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको आजै बिहान २स्५५ बजे मृत्यु भएको पौडेलले बताए ।ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै नवलपुरको देवचुली नगरपालिका-११ निवासी ८० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको छ ।  कात्तिक १२ गते चितवनस्थित भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो । आईसीयू राखिएका उनको आइतबार राती १०ः४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप दुई संक्रमितको मृत्यु भएको हो ।  विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार साँझ मृत्यु भएको छ ।  अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको मृत्यु भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।  पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममै आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।  यस्तै सिन्धुलीमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो।  न्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।