आइतबार गरिएको कालोपत्र सोमबार उप्कियो

गोरखा । गोरखा एप्रोप्रिएट प्रालिले बाह्र किलोदेखि सिर्दिखोला सडकखण्डमा गरेको कालोपत्र एक दिनमै उप्किएको छ ।

आइतबार गरिएको कालोपत्र सोमबार उप्किएपछि स्थानीयले विरोध जनाएका छन् । ‘हामी बिहान यहाँ आउँदा कालोपत्रे भएको केही भाग उप्किएको देख्यौ,’ स्थानीय ईश्वर बस्नेतले भने, ‘हलुकासँग तान्ने कोसिस गर्दा कालोपत्र गरिएको भागहरु सजिलै उप्किन थाल्यो ।’

काममा लापरबाही भएको उनले बताए । ‘गाडी आउजाउ बन्द गरेर पिच गरेका छन्, गाडी नगुड्दा त यस्तो छ भने गाडी गुडेपछि के हालत होला ? ’ उनले थपे ।  बाह्र किलो भालुस्वाँरा बारपाक सडकअन्तरगत पर्ने उक्त खण्डमा अहिले कालोपत्रको काम भइरहेको छ ।

बाह्र किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका अनुसार डेढ किलोमिटर सडक कालोपत्रका लागि एक करोड ७७ लाखमा सम्झौता भएको छ ।  ठेकदारको लापरबाहीका कारण समस्या भएको स्थानीय दीपक परियार बताउँछन् । कमसल सामानको प्रयोग गरेको उनको भनाइ छ । ‘काम पनि सुस्त छ, धुलो राम्रोसँग नउडाइ त्यसमाथि कालोपत्रे गर्‍यो, रोलरले राम्रोसँग पेलेन अनि कसरी कालोपत्र अडिन्छ त रु’ उनले भने ।

ठेकदारले फाइदा खाने र जनताले दुःख पाउने काम मात्र भएको उनले बताए । काममा लापरबाही भएको निर्माण कम्पनी गोरखा एप्रोप्रिएट प्रालि आफैंले स्वीकार गरेको छ । ‘हल्का कमजोरी भएकै हो, प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको हो,’ प्रालिका इन्जिनियर अभिजित कोइरालाले भने, ‘भत्केको ठाउँमा प्राइम हालेर फेरि कालोपत्र गर्छौं ।’