हेलम्बुलाई स्याउको गाउँ बनाइने

सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ ।

करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् ।  विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो ।

अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीयले बताए। हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि बताए ।

स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको पेमाल्हामु शेर्पाले बताउनुभयो ।  स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । “गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ” ।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ ।  हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए ।