अमेरिकी चुनावमा डेमोक्रेटस्‌ले धाँधली गर्‍यो भन्दै गलत दाबी गरेपछि ट्रम्पलाई ट्‌विटले दियो चेतावनी

न्युयोर्क । अमेरिकी सञ्‍चारमाध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्‍ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले, डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्‍ने आधारहीन दाबी गरेका थिए ।

योसँगै ट्‌विटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएका छन् ।  उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्‍ने दाबीसमेत गरेका छन् । अमेरिकी समयअनुसार मंगलबार राति ट्रम्पले आफूले ‘ठूलो जित हात पारेको’ घोषणा गरेका थिए र यसबारे आफूले सम्बोधन गर्नेसमेत जनाएका हुन् ।

यस्तोमा ट्‌विटरले उनका पोस्टमा लगाइदिएको चेतावनीपूर्ण लेबलमा चुनावको गणना अझै नसकिएकाले राष्ट्रपतिको दौडमा रहेकाहरु विजयी घोषित भइसकेको छैन भनेर व्याख्या गरिएको छ । सो लेबलमा एउटा लिङ्‍क पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘भोटिङ इन्फरमेसन सेन्टर’ को पेजमा पुर्‍याउनेछ । यसमार्फत प्रयोगकर्ताहरुले निर्वाचनसम्बन्धी सही जानकारी प्राप्त गर्न सक्नेछन् ।

ट्रम्पले फेसबुक र ट्‌विटर दुवै सन्जालमा त्यस किसिमका गलत दाबी गरेका हुन् । ट्‌विटरको लेबलमा उनले लेखेको कुरा गलत र विवादास्पद भएको भनेर चेतावनी दिइएको छ । ट्‌विटरका प्रवक्ताले यसबारे भनेका छन्, “यो हाम्रो नीतिविपरीत कार्य हो त्यसैले हामीले त्यसमा चेतावनी दिनुका साथै सो ट्‌विटमा अन्य प्रयोगकर्तालाई संलग्‍न हुनमा पनि कडाइ गरिदिनेछौँ ।” फेसबुकले भने हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्‌विटरले यसअघि पनि धेरैपटक ट्रम्पका विवादास्पद पोस्टहरुमा लेबल लगाइसकेको छ तर फेसबुकका लागि यो पहिलोपटक हो ।