चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको माउ र बच्चा मृत फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको माउ र बच्चा मृत फेला परेका छन् ।

निकुञ्जको लौखानी भन्ने स्थानमा गैंडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैंडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैंडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशंका गरिएको सूचना अधिकारी रामले बताए ।

उनका अनुसार गएको भदौमा मृत भेटिएको गैंडा र बुधबार मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको प्रकृति एउटै छ ।  यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैंडाको मृत्यु भइसकेको छ । नौ वटा गैंडा कालगतिले मरेका निकुञ्जले जनाएको छ ।

सन् २०१५ को गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैंडा रहेका छन् ।