अमेरिकामा राष्ट्रपतीय चुनावमा धाँधलीको आरोपमा ट्रम्पले हाले मुद्दा

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिँएको छ ।

राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् ।

पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ ।

जित नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार बाइडनले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् ।  बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले आज बिहान सम्बोधन गर्दै भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए ।

‘हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ,’ उनले थपे।  ट्रम्पले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्टपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन्।

ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्दा दायर गरिसकिएको छ ।  पेन्सिलभेनिया राज्यको मत गणना चलिरहदा त्यहाँ पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्पको अभियानले जनाएको छ ।

राष्टपति निर्वाचनमा मत गणना जारी रहंँदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् ।

अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएका छन् । मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्दा दायर भएको हो ।

,