विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा कोरोना संक्रमिण पुष्टि

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ६५३ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ८६२ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २७ लाख ९४ हजार ६८८ मध्ये ९० हजार ४५ को अवस्था गम्भीर छ ।