प्रहरी हवल्दार र जवानको पेन्सन १६ वर्षमा हुनुपर्ने माग

काठमाडौं । प्रहरी कर्मचारीहरुले वर्षमा ३० दिन अनिवार्य घरबिदा र १२ दिन भैपरी बिदाको माग गरेका छन् ।

यस्तै हवल्दार र जवानको पेन्सन १६ वर्षमा हुनुपर्ने उनीहरुको माग छ । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

विभिन्‍न प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय गरी ९ स्थानमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुलाई आफ्ना सुपरिवेक्षकको उपस्थितिविना छुट्टाछुट्टै १०–१५ जना उपस्थित गराई विभिन्‍न सांगठनिक विषयमा खुला रुपमा धारणा लिइएको थियो । जसमा उनीहरुले सरकारी जागिर भएको, रोजगारी र पेन्सन पाउने अभिलाषाले एवं प्रहरीको पोसाकप्रतिको आकर्षणले नेपाल प्रहरीको जागिर रोजेको बताएका थिए ।

संगठनले उत्प्रेरणा अभिवृद्धि गर्न के गर्नु पर्छ भन्‍ने सवालमा सहभागीहरुको सुझाव माग गर्दा समयानुकूल तलब एवं रासन वृद्धि हुनुपर्ने, ७ देखि १० वर्षमा बढुवा हुनुपर्ने, घरपायक सरुवा गर्नुपर्ने, प्रहरी हवल्दार र जवानको पेन्सन १६ वर्षमा हुने व्यवस्था गर्नुपर्ने धारणा राखेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा भनिएको छ, “स्केलका सामानहरु गुणस्तरीय र नियमित हुनुपर्ने, नियमानुसार वर्षमा अनिवार्य ३० दिन घरबिदा र १२ दिन भैपरी बिदाको व्यवस्था हुनुपर्ने, सिनियरको व्यवहार राम्रो तथा निष्पक्ष हुनुपर्ने, ड्युटी व्यवस्थित हुनुपर्ने, अस्पतालको सेवा निःशुल्क तथा गुणस्तरीय हुनुपर्ने तथा दर्जागत भेदभाव हुन नहुने गर्नुपर्छ ।”

यस्तै कामको उचित मूल्याङ्‍कन तथा गुनासोको सुनुवाइ प्रभावकारी हुनुपर्ने, सन्ततिको शिक्षा निःशुल्क हुनुपर्ने र उच्च शिक्षामा छात्रवृत्तिको कोटा वृद्धि गर्नुपर्ने, प्रहरी विद्यालयहरु थप विस्तार गर्नुपर्ने, कल्याणकारी कोषको सुविधालाई थप विस्तार गर्दै सहुलियत ऋण कम्तीमा ५ लाख बनाउनुपर्ने, घर बनाउन ऋण दिनुपर्ने माग पनि हवल्दार र जवानहरुले गरेका छन् ।

कल्याण कोषको सुविधा प्रदेश स्तरबाट सबैले सहज रुपमा पाउने व्यवस्था गर्नुपर्ने, पारिवारिक आवासको व्यवस्था गर्नुपर्ने, जीवन बिमाको रकम थप गर्नुपर्ने एवं पारिवारिक बिमाको सुविधासमेत हुनुपर्ने, अध्ययनलाई अगाडि बढाउने अवसर दिनुपर्ने माग पनि उनीहरुको छ ।

महिला प्रहरीको हकमा श्रीमान्‌(श्रीमती एकै स्थानमा पदस्थापन हुनुपर्ने, महिला प्रहरीको लागि ब्यारेक, चेन्जिङ कक्ष, शिशु स्याहार केन्द्र, स्तनपान कक्षको व्यवस्था सबै कार्यालयमा विस्तार गर्दै लैजानुपर्ने सुझावहरु छलफलमा सहभागी प्रहरी हवल्दार तथा जवानहरुले व्यक्त गरेको अध्ययनमा उल्लेख छ । सोही क्रममा उनीहरुले प्रहरीमा प्रवेश गरेपछि पारिवारिक आर्थिक अवस्था सुदृढ हुने अपेक्षा राखेको तर सेवामा आएर घर बनाउन तथा सहज जीवनयापन गर्नसमेत नसकेको सहभागीहरुले बताए ।

सरुवा, बढुवा र मूल्याङ्‍कनमा निष्पक्षता तथा पारदर्शिताको अभाव एवं बाह्‍य हस्तक्षेप अधिक रहेको, घरपायक सरुवा नहुँदा घर(व्यवहार मिलाउन कठिनाइ रहेको, बढुवा लामो समयसम्म नहुँदा समाजमा असहज महसुस भएको, तालिम खर्चिलो रहेको र इच्छाविपरीत तालिममा मनोनयन गर्ने गरेकोलगायत गुनासो पनि उनीहरुले गरेका छन् ।

समाजले जुनियर प्रहरी अधिकृतदेखि माथिल्लो दर्जालाई राम्रो दृष्टिकोणले हेर्ने गरेको तर प्रहरी हवल्दार तथा जवानहरुको सामाजिक पहिचान राम्रो नरहेको, समय समयमा अनलाइन तथा प्रिन्ट मिडियामा प्रसारण हुने प्रहरीसम्बन्धी नकारात्मक समाचार सामग्रीहरुले समेत समाजको प्रहरीप्रतिको दृष्टिकोण नकारात्मक हुँदै गएको र सिनियरले सर्वसाधारणको अगाडि गाली गर्ने तथा सजाय दिने गरेको पनि उनीहरुले गुनासो गरेका छन् ।