प्रचण्डले बोलाएको बैठकमा गएनन् ओली पक्षका नेता

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ ।

सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् ।

प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्‍वर पोखरेल भने उपस्थित छैनन् ।

यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी छैनन् । केही दिनअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई पार्टी फुटतिर लैजान कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने मत राखेका थिए।