पार्टी फुटको डिलमा पुग्यो बचाऔँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग नेकपा फुटको डिलमा पुगेकाले बचाउन आग्रह गरेका छन् ।

उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।  प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए ।

अध्यक्षद्वय ओली र दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो । सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर गुहार मागेका हुन् । ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई छलफलका लागि बोलाएका थिए ।

नेताहरुले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निर्णायक भूमिका भएकाले सहमतिको पहल थाल्न आग्रह गरेका थिए । “हामीले पनि सबै मिलेर पार्टी बचाउनुपर्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले सबैभन्दा बढी र निर्णायक भूमिका तपाईँको हुन्छ । सिंगो पार्टीलाई एकताबद्ध हुने गरी काम गर्नुस् ।

छलफलमा प्रधानमन्त्री ओलीले फुटको संघारमा पार्टी पुगेकाले बचाउन पटक पटक आग्रह गरेको नेता पाण्डेले जानकारी दिए । उनले आफूहरुले प्राविधिकभन्दा पनि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको बताएका थिए ।