मोरङमा उपचाररत थप तीन संक्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।

झापा, उदयपुर र सिरहाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा उनको बिहान ६ बजे मृत्यु भएको हो ।

यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ ।

ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।