नेकपा सचिवालयका बैठक धुम्बाराहीमा जारी

काठमाडौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ ।

मंगलबार दिउँसो ४ बजेपछि सुरु अनौपचारिक बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

धुम्बाराहीमा बैठकअघि अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइसकेको छैन ।

प्रवक्ता श्रेष्ठका अनुसार अनौपचारिक बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको थियो । तर, प्रधानमन्त्री ओलीलगायत उनी निकट नेता बैठकमा उपस्थित छैनन् ।

यसअघि पनि दाहालले कात्तिक २१ गते धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । उक्त बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए ।

तर, समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि दाहालले थप छलफलका लागि सचिवालयका सदस्यलाई बोलाएका थिए ।