आज काठमाडौं उपत्यकाको तापक्रम ८ डिग्री सेन्टिग्रेड

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्याकाको तापक्रम ८ डिग्री सेन्टिग्रेड रहेको छ । ८ः४५ बजेसम्म यो तापक्रम केही तल झर्न सक्ने बताइएको छ ।

विभागले यो तापक्रम अघिल्ला वर्षहरुको जस्तै सामान्य भएको जनाएको छ । दिउँसो मौसम सफा रहे पनि विहान बेलुका भने चिसो हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

“समय अनुसार आजसम्म मौसममा ठूलो परिवर्तन आएको छैन । विस्तारै मौसममा परिवर्तन आउँदै जाने छ,” पौडेलले भने, “हिमपात नहुँदासम्म सामान्य अवस्थामा चिसो बढ्दै जानेछ ।”

पश्चिमी वायू प्रणाली विकास भएर हिमाली भोगमा हिमपात र पहाड तथा तराईमा तुसारो पर्न थालेपछि चिसो बढ्ने छ । यसका लागि केही समय लाग्ने पौडेल बताउँछन् ।