रौतहटमा युवतीको गोली हानी हत्या

रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गर्यो सो बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । युवतीको हत्या प्रेम सम्बन्धको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग अमृताको विवाह भएको थियो । असारमा युवती अमृता कुमारीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन् । रौतहटका प्रहरी प्रमुख एसपी सिद्धीविक्रम साहका अनुसार युवतीको हत्यामा संलग्न व्यक्तिहरु पहिचान भइसकेको छ । हाल उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको एसपी साहले बताए ।