जनकपुरमा रेल गुड्न नपाउँदै रेल्वे लिकको ‘क्लिप’ चोरी

काठमाडौँ । नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । 

एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो ।  तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ चोरी हुन थालेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमटर लिक निर्माण सम्पन्न भइसकेको छ । कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म कुल ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । 

यता निर्माण हुँदै छ अर्कोतिर निर्माण भइसकेको लिकको ‘क्लिप’ धमाधम चोरी भइरहेको छ । भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कुर्थासम्म निर्माण सम्पन्न भएको रेल्वे लिकको क्लिप धमाधम चोरी भइरहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले स्वीकार गरेका छन् ।  चित्रकारले भने– ‘लिकको क्लिप बेला–बेला चोरी भइरहेको छ । देशको माया नगर्नेहरूले क्लिप चोरेको जस्तो लाग्छ ।’