कार र मोवाईल चोर्ने ४ जना पक्राउ

काठमाडौं । कार र मोवाईल चोर्ने तथा चोरीमा संलग्नलाई संरक्षण दिने सहित चार जनालाई प्रहरीले पक्रेको छ ।

‘फोर्ड टिटानियम’ कार चोर्ने प्रदिप चौधरीसहित ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।

झापा बिर्तामोड घर भएका चौधरीले एक महिनाअघि सुनसरी स्थित ईटहरी उप–महानगरपालिका–१२ बाट बा।९ च.३४०३ नम्बरको कार, मोवाईल र ल्यापटप चोरेका थिए । चौधरीलाई खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी अर्जुन केसीले रातोपाटीलाई बताए ।

असोज २९ मा खनारस्थित पुष्पनारायण चौधरीको घरमा पसेर प्रदिपले कारको साँचो निकालेर सामसुङ कम्पनीको मोवाईल सहित कार चलाएर भागेका थिए । कारमा डेल कम्पनीको आई–सेभेन ल्यापटप पनि थियो ।

प्रदिपले कातिर्क १६ मा खनार स्थित मिया टोलको सद्धाम हुसेनको घरबाट सामसुङ र रेडमी कम्पनीको मोवाईल र ४६ हजार नगद पनि चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथिसँग मिलेर उनले चोरी गरेका थिए । चोरीमा संलग्न उनको साथिको खोजी भईरहेको डिएसपी केसीले बताए ।

प्रदिपले चोरेको मोवाईल किन्ने र उनलाई संरक्षण गर्ने अरु ३ जनालाई पनि प्रहरीले पक्रेको छ । चोरीमा संलग्न आरोपीलाई संरक्षण गर्ने ईटहरी–१२ घर भएका अविनास सरदार र मोवाईल किन्ने ईटहरी–१९ बस्ने नरेश सरदार र संजय सरदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरेको कार र मोवाईल प्रहरीले बरामद गरेको छ ।