वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने ओलीको प्रयास जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राखेका छन् । रोजेको मन्त्रालय लिएर आफूलाई साथ दिन ओलीले गौतमलाई प्रस्ताव गरेका छन् ।

आज दिउँसो चार बजे सचिवालय बैठक बोलाइएपछि पनि ओलीले मन्त्री बन्न प्रस्ताव पठाएका थिए । आफूनिकट नेताहरुमार्फत् ओलीले गौतमलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार ओलीनिकट केही नेताहरुले बिहीबार राति अबेरसम्म गौतमसँग कुराकानी गरेका थिए ।

तर, गौतमले मन्त्री बन्ने÷नबन्ने निर्णय संस्थागतरुपमा गरिनुपर्ने बताएका थिए । ‘उहाँ पार्टीको संस्थागत निर्णयविना कुनै पनि जिम्मेवारी स्वीकार्ने पक्षमा हुनुहुन्न । मन्त्री बन्नेबारे पार्टी नेताहरुसँग कुरासमेत गर्नु भएको छैन’, गौतम निकट स्रोतले भन्यो ।

गौतमले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई साथ दिएपछि ओली सचिवालयको समीकरणमा अल्पमतमा परेका छन् । सचिवालयमा गौतम जता लाग्यो, उतै बहुमत पुग्ने अवस्था भएकाले पनि ओलीले गौतमलाई फकाएका हुन् ।

गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १९ मै शीतल निवास बोलाएर ओलीलाई साथ दिन आग्रह गरेकी थिइन् । पार्टी विभाजनलाई रोक्न गौतमको भूमिका आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले पूर्वएमाले नेताहरु मिल्न संकेत दिएकी थिइन् ।

वामदेवलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन तिहारपछि धकेलेको नेताहरु बताउँछन् । सर्वोच्चमा मुद्दा भएकाले नै मन्त्रिपरिषद् पुनर्गठन पछि धकेलिएको बताइन्छ । तर, कात्तिक २६ मा सर्वोच्चले इजलासको बहुमतबाट वामदेवलाई मन्त्री बन्ने बाटो खुला गरिदिएको छ ।

उनीहरुले स्थायी कमिटी बैठकको निर्णय ओलीले कार्यान्वयन नगरेको भन्दै सचिवालय बैठक माग गर्दै आएका थिए । कात्तिक २२ मा प्रचण्ड पक्षधर सचिवालयका पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग नै गरेका थिए । सोही अनुसार शुक्रबार सचिवालय बैठक बोलाइएको छ ।