कोरोनाको प्रभावपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । १९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो ।

तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।

कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो ।

विभागका अनुसार पछिल्लो ४ महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ रोजगारीमा जाने संख्याभन्दा एकपटक गएर बिदामा फर्किएकाहरु पुनः जाने क्रम धेरै छ । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुलेपछि पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो ।

सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो । तर, विदेश जानेका लागि दिइने श्रम स्वीकृति भने भदौ १५ देखि मात्रै खुला भएको थियो । श्रम स्वीकृति खुला नभएसम्म श्रमका लागि विदेश जान सरकारको विशेष अनुमति आवश्यक पर्ने भएकोले त्यो अवधिमा श्रम स्वीकृति लिनेको संख्या ज्यादै न्यून हुन गएको हो ।

यो अवधिमा विदेश जानेमध्ये म्यानपावर लगायत रिक्रुमेन्ट कम्पनीबाट जानेको संख्या निकै कम छ । यो अवधिमा जम्मा १ हजार ५ सय ३७ जना व्यक्ति मात्रै म्यानपावरमार्फत् विदेश गएका छन् ।

साउन महिनामा श्रम स्वीकृति खुला नभएका कारणले यो महिनामा म्यानपावरमार्फत् कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा नगएको वैदेशिक रोजगारीका लागि स्वीकृति नपाएका हुन् । भदौ १५ देखि स्वीकृति खुला भएका कारण भदौ महिनामा भने ४९ जनाले म्यानपावरमार्फत् श्रम स्वीकृति लिएका छन् ।

असोज र कात्तिक महिनामा भने यो संख्या बढ्दै गएको छ । असोजमा ६ सय २६ जना तथा कात्तिक महिनामा ८ सय ६२ जनाले म्यानपावरमार्फत् विदेश जाने श्रम स्वीकृति पाएका छन् ।

व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या पनि साउन महिनामा शुन्य थियो । भदौमा ६७ जना, असोजमा ५ सय १६ जना तथा कात्तिकमा ४ सय १४ जनाले व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति पाएका छन् ।