बेलायतमा कोरोनाबाट एकैदिन ६०३ को मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमण दरमा केहि दिनयता कमी देखिए पनि मृतक संख्या भने घटेको छैन । वीकेन्डका दिनमा कम देखिए पनि बाँकी दिनहरुमा भने पाँच सयको हाराहारीमा मृतक संख्या थपिदै गएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार २४ घन्टामा थप ६०३ जना कोरोना संक्रमितको मृयु भएको छ । हिजो सोमबार २०५ जना कोरोना संक्रमितको मृत्यु भएकोमा आज यो संख्या बढेर ६ सय नाघेको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ५१ पुगेको छ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि १६ लाख ४३ हजार ८६ पुगेको छ । पछिल्लो २४ घन्टामा १३ हजार ४३० जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्यामा भने केहि दिन यता केहि कमि आएको छ । यसैगरी गएको २४ घन्टामा थप एक हजार ३६९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल बेलायतका हस्पिटलमा १५ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भैरहेको छ । एक हजार ४२५ जनाको भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोन संक्रमण नियन्त्रणका लागि बेलायत सरकारले दुई महिनाको लागि इंग्ल्याण्डमा जारी गरेको लकडाउनको आज अन्तिम दिन हो । भोलि डिसेम्बर २ तारिखबाट संक्रमणको प्रकृति हेरेर तीन तहको लकडाउन लागू हुने अहिले जारि लकडाउनलाई सहज गरिने भएको छ । लकडाउनका कारण हाल बन्द रहेका अत्यावश्यकबाहेकका पसलहरु तथा हस्पिटालिटी क्षेत्रका व्यवसाय पनि संचालन हुनेछन् । तर, संक्रमणको अवस्थालाई मध्यनजर गर्दै तीन तहका प्रतिवन्ध भने लागू गरिने सरकारले घोषणा गरेको छ ।

यसैबीच, बेलायतमा डिसेम्बर पहिलो साताबाट कोरोनाविरुद्धको भ्याक्सिन पनि वितरण शुरु हुने बताइएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र ब्रिटेनमा आइपुग्ने भनिएको छ ।