शिक्षक हत्या गर्नेलाई छिटो समात्न सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मोरङको मिक्लाजुङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गरेका थिए । गृह मन्त्रालयमा आयोजित ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तिव्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएका हुन् ।

मंगलबार मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठलाई सुराक गरेको आरोपमा विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । हत्याको जिम्मा विप्लव समूहले लिएको छ । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।