रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गौर नगरपालिका–४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु। १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु.१ सय दरका ३००, रु.५० दरका १८००, रु.२० दरका ९०१ र रु.१० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए । मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।

पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।