ललिता निवास सरकारी सार्वजनिक जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाल अदालतमा

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको २९९ रोपनी सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल बयानका लागि बबरमहलस्थित विशेष अदालत पुगेका छन् ।

ढकालको बयान जारी रहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा ढकाल प्रमुख अभियुक्त हुन् । पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उनको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।