लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ हुलास मेटलस्थित सडकबाट करिब ४ केजी अवैध लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ५२ वर्षीय तेज बहादुर राई र सोही ठाउँ बस्ने ४१ बर्षीय पदम बहादुर राई रहेका छन् ।

भारततर्फ जाँदै गरेको को.२ ह ७२४१ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको उक्त गाँजा फेला पारी अटोमा सवार तेज बहादुर र अटो चालक पदम बहादुरलाई अटो सहित पक्राउ गरेको हो ।