बेलायत नयाँ भाइरस रोक्न झन् कठोर बन्दै

लन्डन । बेलायत सरकारले घातक ठानिएको कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट) भित्रन नदिन थप कडाइ गर्ने भएको छ ।

त्यसका लागि सरकारले यही सोमबारदेखि अनिवार्य होटल क्वारेन्टाइनको नयाँ नियम लागू गर्ने भएको हो । यात्रासम्बन्धी नयाँ नियम उल्लंघन गरेको पाइए १० हजार पाउन्डसम्म जरिवाना र १० वर्ष जेलसजाय हुन जनाइएको छ ।

उक्त नियम विशेष गरी कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको ठानिने साउथ अफ्रिका, ब्राजिल, दुबईसहित ‘रेड लिस्ट’ मा रहेका ३३ देशबाट बेलायत फर्किएका बेलायती र आइरिस नागरिकका हकमा लागू हुनेछ । उक्त लिस्टमा नेपाल भने समावेश छैन । तर नेपालबाट बेलायत आउने यात्रुलाई १० दिन होम आइसोलेसनमा भने बस्न अनिवार्य छ ।

नयाँ नियमअनुसार अति जोखिमयुक्त मुलुकहरूबाट स्वदेश फर्किएका बेलायती र आइरिस नागरिकले १० रातसम्म होटल क्वारेन्टाइन बस्नुपर्नेछ । उक्त अवधिभर सुरक्षाकर्मीको रेखदेखमा बस्नुपर्ने पनि नयाँ नियममा उल्लेख छ । यात्रुहरूले बेलायतमा रहने ठेगाना तथा सम्पर्क नम्बरलगायत विवरणहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । यसपछि उनीहरू सेल्फ आइसोलेसन क्षेत्रसम्म जान सक्नेछन् ।

उच्च जोखिमको सूचीमा परेका मुलुकबाट बेलायत आउने यात्रुले होटल क्वारेन्टाइनका लागि १ हजार ७ सय ५० पाउन्ड तिर्नुपर्ने जनाइएको छ । क्वारेन्टाइनका लागि सरकारले १६ वटा होटलमा ४ हजार ६ सय कोठा तयार गरेको स्वास्थ्यमन्त्री म्याट ह्यानककले जनाएका छन् ।

बेलायतमा करिब १ सय ४७ जनामा भाइरसको साउथ अफ्रिकी भेरियन्ट देखिएको बताइएको छ । बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका सहप्राध्यापक डा। ओम कुर्मीका भनाइमा साउथ अफ्रिकी भेरियन्ट ‘५०१ डट भी–२’ अर्थात् ‘बीडटवानडट३५१’ ले दुईपटक ९एन–५०१ वाई र ई–४८४ के० का रूपमा स्वरूप परिवर्तन गरिसकेको छ ।

उनले ‘एन–५०१ वाई’ म्युटेसनले संक्रमण छिटो गर्ने र ‘ई–४८४ के’ ले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घटाउने बताए । उनले साउथ अफ्रिकी भेरियन्टसँग जुध्न हाल प्रयोगमा आएका खोपमध्ये मोडेर्ना उस्तै प्रभावकारी तर जानसेन र नोभाभ्याक्स केही कम प्रभावकारी देखिएको पनि बताए । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको खोप नयाँ भेरियन्टसँग लड्न कति प्रभावकारी हुन्छ भन्नेबारे भने विस्तृत अध्ययन भइसकेको छैन ।

यसैबीच, बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरूले क्वारेन्टाइन अवधिभर दुईपटक कोरोना परीक्षण गराउनुपर्ने सरकारले बताएको छ । जसअनुरूप होटल वा होम आइसोलेसन जहाँ भए पनि यात्रुहरूले बेलायत प्रवेश गरेको दोस्रो र आठौं दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ ।

जोखिमको सूचीबाहेकका मुलुकबाट आउने यात्रुहरूले पाँचौं दिनको परीक्षणमा नेगेटिभ देखिएमा घरैमा आइसोलेसनमा बस्न सक्ने नयाँ नियम ‘टेस्ट टु रिलिज स्किम’ मा उल्लेख छ । हाल रेल, डुंगा वा उडानमार्फत बेलायत प्रवेश गर्ने यात्रुहरूले कोरोना परीक्षण नेगेटिभ भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । जुन प्रमाणपत्र उडान भर्नुभन्दा ७२ घण्टाअघिको हुन जरुरी छ । कोरोना परीक्षणको प्रमाणपत्र पेस गर्न नसके ५ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ ।

 

हाल इंग्ल्यान्ड र वेल्समा करिब १७ लाख जना सेल्फ आइसोलेसनमा रहेका विवरण सार्वजनिक भएको छ । बेलायतको ‘एनएचस कोभिड–१९ एप्स’ ले ती मानिसलाई सेल्फ आइसोलेसनमा बस्न भनेको बताइएको छ । उक्त एप्सका माध्यमले ६ लाख संक्रमित केस घटेको सरकारी अधिकारीले जनाएका छन् । हाल १ करोड ६५ लाख मानिसले उक्त एपको ‘कन्ट्याक्ट ट्रेसिङ टुल’ प्रयोग गरिरहेको पनि समाचारमा छ । कोरोना भाइरस प्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा २३ लाख ८५ हजारभन्दा बढी संक्रमित छन् ।