लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।