निर्वाचन आयोगको ओलीसँग साँठगाँठ हुनसक्छ : देउवा

टवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् ।

रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका व्यक्त गरेका हुन् ।

निर्वाचन आयोगलाई काम गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको साँठगाँठमा कार्यतालिका ल्याउन ढिलाई गरिएको हुनसक्ने आशंका व्यक्त गरे । संसद विघटन गरेको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने बताउँदै देउवाले निर्वाचन आयोग नै अदालतको निर्णय कुरेर बसेको भन्दै आलोचना गरे ।

उनले भने, ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिन भनेर । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ, महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’

उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्नेमा जोड दिए । ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ । निर्वाचन आयोगको पनि त्यही काम हो ।’ उनले सबै पार्टीलाई बोलाएर चुनावी कार्यक्रम दिन नसकेको भन्दै आयोगको आलोचना गरे । उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन । अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो ।’