सुशान्तसिंह राजपूतसँग काम गरेका सन्दीपले गरे आत्महत्या

एजेन्सी । बलिउड अभिनेता सन्दीप नाहारको मुम्बईमा निधन भएको छ ।

समाचार एजेन्सी एएएनआईका अनुसार उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ ।

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए । यसको अलावा चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए । त्यस्तै, उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए ।

घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोष्ट गरेका थिए । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन ।’ त्यसको साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन ।’