लेखक अभिजित रायको हत्याका पाँच दोषीलाई मृत्युदण्डको सजाय

एजेन्सी । बंगलादेशको एक अदालतले ६ वर्ष अघि लेखक तथा ब्लगर अभिजित रायको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई भने जन्मकैदको सजाय सुनाएको छ ।

यो फैसला आउनु केही दिन अघि मात्रै अभिजित रायको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने कयौँ लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो । त्यसक्रममा सबैभन्दा पहिला अभिजित रायको हत्या भएको थियो ।

उनी ढाका पुस्तक मेलाबाट बाहिर निस्कदै गर्दा हत्या गरिएको थियो । उक्त हत्याकाण्डलाई लिएर बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएका थिए । अन्तर्राष्ट्रिय समुदायले पनि उक्त घटनाको निन्दा गरेको थियो ।  अभिजित राय बंगलादेशका चर्चित लेखक तथा ब्लगर थिए । उनले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए । उनी एक ब्लगिङ प्लेटफर्म ‘मुक्तमन’ को संस्थापक पनि थिए ।