चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए । गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ ।