बलात्कारबाट गर्भवती भएकी १३ वर्षीय छोरीलाई एक्लै छाडेर बाबु सम्पर्कविहीन

विराटनगर । विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् ।

भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् ।

बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर उनी भागेको एबीसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले जानकारी दिइन् ।

दिनभरि प्रशासन कार्यालय अगाडि रोएर बसेकी बालिकालाई प्रहरीले उद्दार गरी एबीसी नेपालको संरक्षणमा राखेको छ । एबीसीको संरक्षणमा रहेका बेला बिरामी परेकी उनको कोसी अस्पताल विराटनगरमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

‘छोरी गर्भवती रहेको थाहा पाएपछि बुबाले सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर छाडेछन्’ पन्तले भनिन् ‘सडकमा रुँदै बसेका कारण बटुवाले खाना खानका लागि पैसा पनि दिएछन् । प्रहरीले उद्दार गरेपछि एबीसी नेपालमा राखिएको छ ।’

उनका अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ छ । तर सानै उमेरमा गर्भ रहेका कारण बच्चा र आमाको दुवैको स्वास्थ्य अवस्था कमजोर छ । ‘खोजी गर्दा बुबा पत्ता लागेका छन् । तर बोलाउँदा लिन आएका छैनन्’ उनले भनिन् ‘प्रहरीको समन्वयमा भारतमा नै जिम्मा लगाउने तयारी छ ।’

सात महिनाको गर्भ देखिएपछि सोधीखोजी गर्दा उनलाई आफ्नै भाउजूका भाइले करणी गरेको खुलेको उनले बताइन् । बलात्कारको गर्भ पतन गर्न सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘भाउजुका भाइले करणी गर्दा गर्भ रहेको रहेछ’ उनले भने ‘इज्जत जाने डरले बुबाले नेपालमा ल्याएर छाडिदिए ।’