ग्रीनलाइफ हाइड्रोको आइपिओ भोलि बाँडफाँड हुने,भाग्यमानी लगानीकर्ताले ११/११ कित्ता पाउने

काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरुबाट लक्की ड्र मार्फत शुक्रबार बाँडफाँड गर्ने भएको हो ।  कम्पनीले माग गरेको कुल ३२ लाख ५१ हजार ५ सय ५२ कित्तामा माग गरेभन्दा ७.३० प्रतिशतले बढी आवेदन परेको छ । अर्थात् कुल २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि १३ लाख २६ हजार ७७ जनाले आवेदन दिएका छन् ।

माग गरेभन्दा अत्यधिक बढि आवेदन परेकाले लक्की ‘ड्र’ मार्फत आईपीओ बाँडफाँड गरिने कम्पनीको आईपो निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ । आईपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिदैँछ । माग र आवेदनका आधारमा गोला प्रथाबाट हुने बाँडफाँडमा ३ लाख २५ हजार १६५ जनाले १० कित्ता दरले सेयर पाउने छन् भने १० लाख ९११ जना आवेदकको हात खाली हुने देखिएको छ । तर २ जना भाग्यमानी लगानीकर्ताले भने ११/११ कित्ता पाउने भएका छन् ।  कम्पनीले गत माघ २३ गतेदेखि कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर सर्वसाधारणसँग माग गरेको हो ।