प्रधानमन्त्री ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १ः३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ–ठाउँमा गस्ती बढाएका छन्‌ । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌।

त्यहाँबाट उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत शिलान्यासस्थल पुग्ने कार्यक्रम तय गरिएको छ।