मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा

https://i1.wp.com/sgp1.digitaloceanspaces.com/appharus1/khubs3/uploads/2020/07/melamchi.jpg?w=1000&ssl=1

काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको छ ।

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।

आज बिहान ११ बजे पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ ।

उनले भने, “सुरुङको परीक्षण सफल भएपछि नै नियमितरुपमा मेलम्चीको पानी आउनेछ ।” सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए ।

सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ ।

उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।