पछिल्लो २४ घन्टामा बेलायतमा ५४८ जना कोरोना संक्रमितको मृत्यु

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्ला केही दिनयता पाँच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पाँच सय नाघेको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बितेको २४ घन्टामा थप ८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९ पुगेको छ ।  अस्पतालमा उपचार गराउनेको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ७९७ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७९ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७९ लाख १६ हजार १८१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४२ हजार ७८८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिँदैछ ।

संक्रमण दरमा आएको कमी संगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणवद्ध रुपमा हाल जारी लकडाउनलाई हटाउँदै जाने सोमबार घोषणा गरेका छन् । प्रधानमन्त्रीद्वारा जारी ६८ पृष्ठ लामो मार्गचित्रमा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।  पहिलो चरण अन्तर्गत मार्च ८ मा स्कुलहरु खोलिनेछन् भने केयरहोमका वासिन्दाले बढीमा एक जनासम्म भेट गर्न पाउनेछन् । यसैगरी सोहिदिनबाट आउटडोरमा दुई जनासम्मले भेट्न र चिया, कफी लिन वा पिकनिक गर्न पाउनेछन् । यसअघि दुई जनासम्म आउटडोरमा भेट्न पाइने तर खान बस्न भने गैरकानूनी मानिन्थ्यो ।

तेस्तै पहिलो चरण अन्तर्गत नै मार्च २९ तारिखबाट आउटडोर पार्क, तथा प्राइभेट गार्डेनमा ६ जना अथवा दुई परिवारबीच भेटघाट गर्न पाइनेछ । टेनिस, बास्केटबल जस्ता आउटडोर खेल खेल्न अनुमति दिइनुका साथै एक क्षेत्रबाट अर्को क्षेत्रमा जान लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिनेछ । यसैगरी लकडाउन खोल्ने क्रममा दोस्रो चरण अन्तर्गत अप्रिल १२ बाट हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै ‘रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्युजियम, बियर गार्डेन, थिम पार्क लगायतका सार्वजनिक स्थलहरु खुला गरिनेछ । पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्न सक्नेछन् । तर,अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।

तेस्रो चरण अन्तर्गत १७ मे बाट धेरै व्यवसायहरु संचालनमा आउनेछन् । ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन् । सिनेमा हल, होटल, खेलकुद तथा सांगीतिक कार्यक्रममा सामाजिक दुरी कायल राखेर संचालन गर्न सकिनेछ । खेलकुदका इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् । 

चौथो चरण अन्तर्गत जुन २१ बाट हाल लागू गरिएका सम्पूर्ण प्रतिबन्ध खारेज गरि इंग्ल्याण्डलाई लकडाउनमुक्त बनाइने प्रधानमन्त्रीको मार्गचित्रमा उल्लेख छ । लकडाउन खोल्नको लागि ‘डेट भन्दा डाटा’ लाई आधार मानिने प्रधानमन्त्रीले बताएका छन् । कोभिड खोप वितरण निरन्तर भएको, खोपको कोरोनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या घटाएको प्रमाण देखिएको, संक्रमणदरले अस्पतालहरुलाई प्रेसरमा पार्ने जोखिम नरहेको र भाइरसको नयाँ भेरियन्टले जोखिम नबढाएको अवस्थामा मात्र सरकारले लकडाउन खुकुलो पार्न तय गरेका योजना लागू गर्नेछ ।