सर्वोच्च सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा र्‍याली

पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा -याली निकालेको छ ।

सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा फैसलाको स्वागत गर्दै प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले र्याली निकालेको हो ।

पृथ्वी चोकबाट शुरु भएको र्याली न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमलाई रोकिदिएको बताए । उनले ओलीको सर्वसत्तावादको यात्रालाई सर्वोच्चको फैसलाले रोकिदिएको बताए ।

नेता गुरुङले प्रधानमन्त्री ओलीलाई प्रतिगमन गरेकोमा क्षमा याचना गर्दै राजीनामा दिन आग्रह गरे । उनले सर्वोच्चको फैसलापछि पनि विभिन्न तिकडम गर्दै राजीनामा नदिएर सत्ता टिकाउन अर्को जालझेलको तानावाना बुन्ने सपना नदेख्न चेतावनी दिए ।

नेकपा कास्की इञ्चार्ज राजकाजी गुरुङ (करण) ले सर्वोच्च अदालतले ओलीको प्रतिगामी कदम रोकेको बताए । नेता करणले ओलीको प्रतिगामी कदमको साथ दिएका नेता कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरे । नेकपा कास्की सचिव बखानसिंह तमुले ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अत्तालिएको बताए ।