चितवन जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ

चितवन । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाई रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले बताए। उनले एक करोड १७ लाख राजश्व हिनामिना गरी फरार भएको डिआइजी थापाले बताए।

‘राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए’ डिआइजी थापाले भने ‘एक करोड १७ लाख ‍हाराहारीको हिनामिना गरी फरार भएका थिए।’  उनका अनुसार दमाईले २०७४÷२०७५ सालमा हिनामिना गरी फरार भएका थिए। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।