स्रोत नखुलेको रकमसहित २ जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् ।

फागुन १२ गते बिहान साढे ११ बजे कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका–८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्ता परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उनले बताए । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।