कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीनजना पक्राउ

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका ४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका ४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् । आरोपीमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपीहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताए । आरोपीहरुको कुटपिटबाट पेटमा रहेको १६ साताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारबाही भइरहेको प्रहरीले जनाएको छ ।