फागुन २३ गतेलाई प्रतिनिधिसभा बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपतिले अपराह्न ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्रअनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्।  त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।