ज्योति लाइफको आईपीओ शुक्रबारदेखि निष्कासन हुँदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक निष्कासन (आईपीओ) को मिति परिवर्तन गरेको छ ।

कम्पनीले अब फागुन २१ गते (शुक्रबार) बाट आईपीओे निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले फागुन २३ गते आइतबारबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

नियमित सेयर कारोबार खुल्ने दिनमा मेरो सेयरमा अधिक चाप पर्ने र त्यसले लगानीकर्तालाई ईडीआईएस गर्न समस्या हुने भएकाले शुक्रबारबाट मात्रै आईपीओे निष्कासन गर्न सीडीएससीले दिएको सुझावले अनुसार कम्पनीले आईपीओ निष्कासन मिति परिवर्तन गरेको हो । सीडीएससीले शुक्रबारबाट मात्रै आईपीओ निष्कासन मिति तोक्न यसअघि नै बिक्री प्रबन्धकहरुलाई आग्रह गरेको र फागुन २८ गतेबाट प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन हुन लागेकाले सीडीएससीको सुझावमा नेपाल धितोपत्र बोर्डले निर्देशन दिएर आईपीओ निष्कासन मितिअगाडि सारेका हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लगेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

उक्त आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गत जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारणसेयर हिस्सा ७०:३० प्रतिशत हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ रेटिङ पाएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।