कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

 

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 

यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ ।

 

पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ ।

 

कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

 

नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

 

सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएको छ ।