जेठदेखि अवैध रुपमा ल्याएको मोबाइल नचल्ने

काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्‍चालनमा ल्याइने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्‍चालनमा ल्याउने जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्‍चालनको तयारी भएको बताएका हुन् ।

यो प्रणाली सञ्‍चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । उनले यो प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा अवैध रुपमा भित्रिने मोबाइल चलाउन नपाइने बताए । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उनले बताए ।

यसैगरी उनले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्‍चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्‍चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताए ।