अदालतले भनिसकेको छ त कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीको कुन पार्टीको भनेर प्रश्न गरेका थिए, तर मैले हिजो केही बोलेको थिइनँ, उहाँहरुले त मलाई नेकपाको साधारण सदस्यबाटै कारवाही गर्नुभएको थियो । अहिले त म नेकपाको साधारण सदस्य समेत होइन ।’

‘अदालतले भनिसकेको छ त कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनेको पनि नसुन्ने ? देख्नै नसक्ने आँखा भएर के भयो ? कान भएर के भयो सुन्नै नसक्ने ? यो उनीहरुको जन्मँदैको समस्या पनि होइन । हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको भन्न, अब सर्वोच्च अदालतमा जानुस् सोध्न,’ उनले भने ।

प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा मुद्धा दायर गरेर समस्या निम्त्याएको प्रधानमन्त्रीको भनाइ छ । उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धा दायर नभएको भए अहिले चुनावको तयारी शुरु हुने बताए ।