एकता गर्ने भए १५ दिनमा आउनू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएकाले साबिककै अवस्थामा १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो ।

आयोगको मिति २०७५.२.२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी) (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७.११.२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने, आयोगको विज्ञप्तिमा भनिएको छ ।

एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा रहेको जानकारी संघीय संसद्, सातैवटा प्रदेशसभा सचिवालय र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि आयोगले गरेको छ । ल