धनगढीमा एमालेका दुई समूहबीच झडप

कैलाली । धनगढीमा नेकपा एमालेका दुई समूहबीच झडप भएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

आज बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो ।

रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र थापा ओली समर्थन हुन् । स्थितिलाई मध्यनजर गर्दै बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।