नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका हुन् ।

उनले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको उल्लेख गरे । त्यस्तै उनले संविधानको सफल कार्यान्वयनमार्फत जनताद्वारा प्रतिविम्वित विषयहरुलाई सम्बोधन गर्दै जाने जिकिर गरे ।

उनले शान्तिपूर्ण ढंगले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने र यसमा सुरक्षा निकायको भूमिका अपरिहार्य हुने तर्क गरे ।

प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद् चिवालयमाा वृक्षारोपण समेत गरेका थिए ।