पार्टी दुई भयो : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ ।

पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ ।

शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए । उसो त बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत गरिसकेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए ।
‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौं ।’

देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे । ‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, नेपालले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’

उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ । ‘जेएन खनाल सँगै हुनुहुन्छ, वामदेवजी पनि यही आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’, नेपालले भने।  उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी लागिने उल्लेख गर्दै यसमा लागिपर्ने बताए ।