खनाल–नेपाल समूह सामानान्तर कमिटी बनाउँदै

पोखरा । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि दुवै पार्टीले भोलिपल्ट नै आ–आफ्ना पार्टी कार्यालयमा पुरानै पार्टीको नाममा बोर्ड झुण्ड्याउन हतारो गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड झुण्ड्याएलगत्तै देशैभरका कार्यालयमा एमालेको बोर्ड झुण्डियो । खासगरी केपी ओली पक्षधर नेता कार्यकर्ताहरुमा एमालेप्रतिको मोह बढी रहेको देखिन्थ्यो ।

अन्य जिल्लाहरुमा जस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा पनि नेकपाको पार्टी कार्यालय सबैमा पूर्ववत नेकपा एमालेको बोर्ड झुण्डियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई गत फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले दुई पार्टी एकतालाई वैधानिकता नदिएपछि चिन्ता र चासो हुनुपर्नेमा नेता कार्यकर्ताहरुमा झनै खुशीयाली छायो ।

सर्वोच्चको फैसलापछि ओलीसमूहले ठाउँ–ठाउँमा विजय उत्सव नै मनाएको थियो ।

अदालतले पूर्ववत पार्टीलाई मान्यता दिएपछि ओलीसमूह अत्याधिक हौसिरहँदा माधव नेपाल र झलनाथ खनाल समूहमा भने तीब्र असन्तुष्टी बढेको छ ।

पार्टीभित्रै छलफल र अन्तसंघर्षबाट अघि बढ्ने निष्कर्षमा पुगेका नेपाल–खनाल समूहका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जिम्मेवारविहीन बनाइदिए पछि यो समूहले जिल्ला जिल्लामा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

निकै कमजोर रहेको गण्डकी प्रदेशका जिल्लाहरुमा पनि सामानान्तर कमिटी गठनको तयारी खनाल–नेपाल समूह लागेको छ । ओलीले आफूलाई बेवास्ता गर्दै अघि बढेपछि छुट्टै अस्तित्वको खोजीमा लाग्नुपरेको नवलपुरका नेपाल समूहका नेता रबीन्द्र अधिकारीले बताए ।

बुधबार राष्ट्रिय भेलाको आयोजना गरेको खनाल–नेपाल समूहले कास्की, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, नवलपुर लगायतका जिल्लामा सामानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।  गण्डकीका अधिकांश जिल्लामा ओली समूहको बाहुल्यता रहे पनि बाग्लुङमा भने खनाल–नेपाल समूह बलियो छ ।