साताको तेस्रो दिन झिनो अंकले सुधारियो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार आंशिक रुपमा हरियो देखिएको छ

। बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिससूचक २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको छ । यस अघि साताको पहिलो दिन आइतबार ५१ अंकले बजार घटेको थियो भने सोमबार पनि दोहोरो अंकले नै बजार ओरालो लागेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४४ अंकले सुधार देखिएको छ । समग्रमा बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन । आइतबारको तुलनामा सोमबार घटेको सेयर कारोबार रकम मंगलबार पनि घटेको छ ।

दिनभर भएका ४६ हजार ५४० कारोबारबाट २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ पुगेको छ । सोमबार भने कारोबार रकम ४ अर्ब भन्दा माथि थियो ।

केहि साता अघिसम्म दैनिक ९ अर्ब भन्दा माथिको कारोबार हुँदै आएको सेयर बजार नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घट्दै आएको छ ।