कास्कीको नयाँ पुलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

पोखरा । कास्कीको नयाँ पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ नयाँ पुलमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका विश्व नेपालीको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको हो ।

मृतक अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ हाईजुङका स्थानियवासी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग १ ख ६९५० नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको ध २ प १११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार १७ वर्षीय नेपाली गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्दार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याएकोमा उपचारको क्रममा बुधबार मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक तनहुँ घर भई अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने १८ वर्षीय महमदको मणिपाल अस्पतालमै उपचार भइरहेको उनले बताए ।